हेटौंडा — घरछेउमा पार्किङ गरेर राखेको ट्रक चोरी भएको दुई सातापछि फेला परेको छ । प्रहरीले फेला पारेको ट्रक सम्बन्धित व्यक्तिलाई सोमबार हस्तान्तरण गरेको हो ।
हेटौंडा उपमहानगरपालिका–४ का गणेश बरुवालको नाममा रहेको ना ६ ख ८५५ नम्बरको ट्रक जेठ १३ गते चोरी गरिएको थियो । प्रहरीले उक्त ट्रक खोजतलास गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा फेला पारेको थियो ।
उक्त ट्रक सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उक्त ट्रक चोरीमा संलग्न रहेका मकवानपुरगढी गाउँपालिका–१ का २७ वर्षीय तीर्थमान भोलनलाई चोरी तथा डाँका कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
योसहित हेटौंडामा दुई महिनामा ६ वटा ट्रक चोरी भएका छन् । चोरी भएका ट्रक प्रहरीले फेला पारेर गाडी धनीलाई बुझाउने काम पनि गरिसकेको छ । गाडीमा रहेको डिजेल चोर्ने उद्देश्यले ट्रक चोरेर अन्यत्र लगेर डिजेल झिकेर राजमार्ग आसपासमा छाड्ने गरेको प्रहरीको भनाइ छ ।
