सिन्धुपाल्चोक — २०७२ को विनाशकारी भूकम्प र त्यसपछि बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकमा मनसुन सुरु हुनुअघि नै विपद् पूर्व तयारीलाई तीव्रता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) किरण थापाको नेतृत्वमा स्थानीय प्रशासन, सुरक्षा निकाय र प्राविधिक टोलीले जोखिमयुक्त क्षेत्रहरूको अनुगमन गर्दै आवश्यक पूर्वाधार तयारीलाई प्राथमिकता दिइरहेका हुन् ।
‘सिमाक्षेत्रको अवस्थाबारे बुझिएको छ भने बन्देउदेखि लिपिङसम्मको सडक निर्माण कार्य असार दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ, विभिन्न स्थानमा जारी निर्माण कार्यहरूमा गुणस्तरमा सम्झौता नगर्न र समयमा सम्पन्न गर्न जोड दिएका छौ,’ उनले भने ।
सोमबार प्रजिअ थापा, चरिकोट सडक डिभिजन कार्यालय प्रमुख अमित श्रेष्ठसहित राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक राजन प्रजापति, प्रहरी नायब उपरीक्षक माधवराज खरेलसहितको टोलीले भोटेकोसी गाउँपालिका वडा नं. २ तातोपानी लार्चादेखि क्षतिग्रस्त सडक र पुलहरूको अनुगमन गरेको छ ।
यसअघि टोली मेलम्चीक्षेत्र पुगेको थियो । चरिकोट सडक डिभिजन कार्यालयका इन्जिनियर, भन्सार प्रमुखसहित १४ जनाको टोलीले सडक तथा विकास निर्माणका आयोजनामा देखिएका समस्या बुझ्दै समन्वय गरिरहेको प्रजिअ थापाले बताए ।
यसअघि भूगर्भविद्को अध्ययनका आधारमा साविकको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई दर्जनभन्दा बढी बस्तीलाई उच्च जोखिममा राखेको थियो । यस वर्षको मनसुन सामान्यभन्दा बढी सक्रिय हुने पूर्वानुमानसँगै बाढीपहिरोको जोखिम क्षेत्रका बासिन्दा त्रसित देखिएका छन् ।
जसमा चीनसँग सिमाना जोडिएको भोटेकोशी गाउँपालिकाका अधिकांश बस्ती छन् । यसबाहेक बाह्रबिसे नगर, हेलम्बु, जुगल र पााचपोखरी थाङपाल गाउँपालिका बाढी तथा पहिरोको मुख्य जोखिममा रहेका क्षेत्र हुन् । ‘ती सबै स्थानबारे जानकारी लिएका छौ ,र अत्यावश्यक तयारी भइरहेको छ ,’ उनले भने । विपद् न्यूनीकरणका उपायबारे पूर्वतयारीका काम अघि बढाइएको छ ।
खाद्यान्न, उद्धारका उपकरण, डुंगा, हेलिकोप्टर र सुरक्षाकर्मीको तयारी अवस्थाबारे सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय भइरहेको उनले बताए । सेनाले दोलालघाट क्षेत्रमा उद्धार तालिम तथा उपकरण परीक्षण गर्दै आएको छ भने सशस्त्र प्रहरीले पनि तालिम तथा अभ्यासमा सक्रियता बढाएको उनको भनाइ छ ।
हेलम्बुको शिर भेमेथाङ चौरबाट सोहोरिएर मिसिएको कालो लेदो आएर मेलम्ची बाढीले हेलम्बु र पााचपोखरी थाङपालको करिब १२ किमि क्षेत्र प्रभावित छ ।
