हेटौंडा — बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले अवैध लागुऔषधको खेती नियन्त्रणमा आक्रामक भएर लाग्ने बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यो वर्ष गाँजा र अफिमको ब्याड नै नष्ट गर्ने योजना रहेको जानकारी दिए ।
'सिन्धुली, मकवापनुर, चितवन र धादिङमा अवैध गाँजा र अफिम खेती मौलाएको जानकारी आएको छ, यो वर्ष ब्याड नै नष्ट गर्छौं,' उनले भने, 'जसको जमिनमा गाँजा र अफिमको ब्याड राखिएको छ, उनीहरुलाई कानुनी कारबाही गर्नेछौं ।'
अपराध रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धान गरी जनतालाई सुरक्षाको अनुभूति दिलाउने काम प्रहरीले गरिरहेको उनले बताए । समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले ट्राफिक व्यवस्थापन, भिड नियन्त्रण, भीआईपी, भीभीआईपीहरुको सुरक्षा प्रबन्ध, विपद् व्यवस्थापन लगायतलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाइ थियो ।
