लागूऔषध ट्रामाडोलसहित २ जना पक्राउ

जेष्ठ २६, २०८२

सुवास विडारी

2 arrested with drug Tramadol

मकवानपुर — अवैध लागूऔषध ट्रामाडोलसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका-१ घर भई हाल हेटौंडा-५ बस्दै आएका २४ वर्षीय आशिष अधिकारी र हेटौंडा-२ का २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन् ।

प्रहरी चौकी चौकीटोलको टोलीले उनीहरुलाई हेटौंडा उपमहानगरपालिका-५ सानोपोखराबाट पक्राउ गरेको हो । सानोपोखरा चोकस्थित सडकमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुको साथबाट प्रहरीले १६० ट्याब्लेट ट्रामाडोल फेला पारेको हो ।

उनीहरुको शरीर खानतलासीको क्रममा लागूऔषध ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका आशिष अधिकारी र विज्ञान डिम्डुङमाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully