'मनसुनी विपद् न्यूनीकरण प्रतिकार्य अभ्यास अपरिहार्य'

जेष्ठ २५, २०८२

ज्योती श्रेष्ठ

'Monsoon Disaster Mitigation Response Exercise is Indispensable'

काभ्रे — बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपदको समयमा छिटो उद्धार गर्ने संयन्त्र तयार गर्न आवश्यक रहेको बताएका छन् । आइतबार काभ्रेको भुम्लु गाउँपालिका-८ स्थित दोलालघाटमा सशस्त्र प्रहरी बल नेपाल, नं १५ गण काभ्रे र सशस्त्र प्रहरी बल नेपाल, नं १६ गण सिन्धुपाल्चोकको आयोजनामा सञ्चालन गरिएको नदीजन्य कृत्रिम घटना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले नेपालमा मनसुन भित्रिसकेकाले घटना न्यूनीकरण प्रतिकार्य अभ्यास अपरिहार्य रहेको बताए । 

उनका अनुसार, गत वर्षको असोजमा आएको मनसुनजन्य घटनामा बागमतीका काभ्रे र सिन्धुपाल्चोकमा ठूलो संख्यामा जनधन क्षति भएको छ । ‘विपदमा पूर्वतयारी, आवश्यक स्रोत तथा साधन तयारीमा अवस्थामा नहुँदा ठूलो क्षति भएको थियो,’ उनले भने, ‘गत वर्षको विपदको क्षतिले हामीले धेरै कुरा सिकाएको छ, त्यसकारण पनि विपदजन्य घटना न्यूनीकरण गर्न, कम क्षति तथा छिटो उद्धारको मेकानिजम तयार गर्न आवश्यक रहेको छ ।’

सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोख्रेलले विपद प्रतिकार्यका लागि आवश्यक स्रोत र साधनको व्यवस्थापनमा सरकारबाट पर्याप्त बजेट उपलब्ध नभएको उल्लेख गर्दै विपद् प्रतिकार्यका लागि बजेट उपलब्ध गराउन सरकारसमक्ष माग गरे । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले विपद उद्धार तथा प्रतिकार्यका लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्ने बताए । 

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले जनप्रतिनिधिले विपदको समयमा आवश्यकता भएको ठाउँमा पनि बजेट राखेर काम गर्न सकेको बताउँदै उनले भने, ‘हामीले चाहेर पनि काम गर्न सकेनौं, किनभने, त्यहाँ कानुन नै बाधक भएको थियो, जहाँ बजेटको आवश्यक थियो, जहाँ काम गर्नुपर्ने थियो, त्यहाँ कानुनको कारणले हामी काम गर्न सकेनौं ।’ 

विपद् प्रतिकार्यको लागि सबैभन्दा महत्वपूर्ण विपदका सामग्री रहेको र जिल्लामा उक्त सामग्री पर्याप्त मात्रामा नरहेको जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले विपदमा सबैभन्दा महत्वपूर्ण  पूर्वतयारी, सूचना र सतकर्ता रहेको बताए । जसका लागि विपद् प्रतिकार्य कृत्रिम अभ्यास, सचेतना तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully