मकवानपुरको दुर्गम गाउँमा बर्थिङ सेन्टर स्थापना

जेष्ठ २५, २०८२

प्रताप विष्ट

Establishment of a birthing center in a remote village of Makwanpur

हेटौंडा — मकवानपुरको दुर्गम पालिकाले आफ्नै लगानीमा विकट बस्तीमा बर्थिङ सेन्टर र ओटिसी सेन्टर स्थापना गरेको छ । कैलाश गाउँपालिकाले ज्यान्दुङमा बर्थिङ सेन्टर र ओटिसी सेन्टर स्थापना गरेर शनिबारदेखि सञ्चालनमा ल्याएको छ ।

बर्थिङ सेन्टरमा सुरक्षित ढंगले सुत्केरी गराइन्छ भने ओटिसी सेन्टरमा कुपोषित बालबालिकाहरूलाई पोषणयुक्त खानेकुरा उपलब्ध गराइन्छ । कैलाश गाउँपालिका—४ ज्यान्दुङमा सञ्चालनमा ल्याएको बर्थिङ सेन्टरमा २/३ दिनअघि नै सुत्केरी हुन आउने गर्भवती महिलाले खाने र बस्ने व्यवस्था पनि गरिएको छ । 

कुपोषित बालबालिकालाई केही दिन ओटिसी सेन्टरमा नै राखेर पोषणयुक्त खाना खुवाउने व्यवस्था गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले बताए । ज्यान्दुङमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि कैलाश गाउँपालिकामा योसहित सातवटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । १० वटा वडामा विभाजित उक्त गाउँपालिकाको २, ६ र १० नम्बर वडामा बर्थिङ सेन्टर स्थापना हुन बाँकी छ । 

घरमै असुरक्षित ढंगले सुत्केरी हुने परम्परालाई अन्त्य गर्न वडावडामा स्वास्थ्य चौकीसहित बर्थिङ सेन्टर सञ्चालन गर्ने उद्देश्यले ज्यान्दुङमा बर्थिङ सेन्टर र ओटिसी सेन्टर स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताए ।बर्थिङ  र ओटिसी सेन्टरको शनिबार उद्घाटन गर्दै गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था ठीक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरूको रेखदेख र उपचारले विभिन्न जोखिमबाट बच्न र बचाउन सकिने भएकाले बर्थिङ सेन्टरबाट सेवा लिन सबैलाई अध्यक्ष मोक्तानले आग्रह गरेका थिए । बर्थिङ सेन्टरमा २४ सै घन्टा स्वास्थ्यकर्मी बस्ने व्यवस्था मिलाएको छ । 

कैलाश गाउँपालिकाले प्रत्येक वडामा आमा सुरक्षा र पोषण कार्यक्रम सञ्चालन गरिरहेको छ । होम डेलिभरीलाई शून्यमा झार्न बर्थिङ सेन्टरको महत्त्वपूर्ण भूमिका रहेन उनले बताए । उक्त बर्थिङ सेन्टर र ओटिसी सेन्टरको भवन करिब १३ लाख  रुपैयाँमा निर्माण गरिएको हो । उक्त बर्थिङ सेन्टर निर्माण गर्न कर्णबहादुर थिङले ३ रोपनी जग्गा उपलब्ध गराएका  थिए । उक्त बर्थिङ सेन्टरमा गोपेघारी, देउतीस, धुस्राङ, देउराली र  लिच्चे क्षेत्रका स्थानीय लाभान्वित हुने छन् । बर्थिङ सेन्टर टाढा भएकाले उक्त क्षेत्रका गर्भवती घरमै  असुरक्षित ढंगले सुत्केरी हुने गर्थे । 

चेपाङ बाहुल्य रहेको उक्त गाउँपालिकामा चालु आवमा ३ सय ८० जना गर्भवती हुने अनुमान गरिएको छ  । त्यसमध्ये ११ महिनामा २ सय ६८ जना गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीलाई गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । एम्बुलेन्सले सुत्केरीपश्चात घरमा पनि पुर्‍याइदिने व्यवस्था गाउँपालिकाले गरेको छ । अहिले पनि करिब २० प्रतिशत गर्भवती घरामा नै असुरक्षित ढंगले सुत्केरी हुने गरेको एक स्वास्थ्यकर्मीले बताए । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully