पूर्वविद्यार्थीबाट २५ अभिभावक सम्मानित

बालकुमारी माविमा २०३९ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीले २०७६ सालमा स्थापना गरेको बालमाविद् समूहले अभिभावक सम्झिएको हो

जेष्ठ २४, २०८२

रमेशकुमार पौडेल

25 Parents Honored by Alumni

चितवन — बटुकलाल श्रेष्ठको उमेर अब सय वर्ष नाघ्न अब धेरै दिन छैन । १९८२ साउन ११ मा जन्मेका बटुकलाल पुर्ख्यौली थलो तनहुँ बन्दीपुरबाट २०२८ सालमा चितवन झरेका हुन् ।

नारायणगढ क्षेत्रपुरमा बस्दै आएका बटुकलाल शनिबार चितवन उद्योग वाणिज्य संघको नारायणगढमा रहेको सभा हलमा आयोजित कार्यक्रममा सम्मानित भए । उनका साइँला छोरा शैलेन्द्रका साथी समूहबाट उनी सम्मानित भएका हुन् ।

नारायणगढको बालकुमारी माध्यमिक विद्यालयको ख्याति कुनै बेला नेपालभर थियो । हाल एसईई भनिने तत्कालीन एसएलसी परीक्षामा एकपटक पहिलो र दुईपटक नेपालका उत्कृष्ट १० भित्र नतिजा ल्याउने बालकुमारी स्कुलमा शैलेन्द्र पनि पढ्थे । २०३९ सालमा कक्षा १० मा पढ्ने विद्यार्थीको समूहले शैलेन्द्रका पिता बटुकलालसहित २५ जनालाई सम्मानित गरेको हो ।

सो वर्षका विद्यार्थीले बालमाविद् २०३९ समूह गठन गरेका छन् । ‘त्यो बेला कक्षा १० पढ्ने हामी ८० जना रहेछौं । हामी सम्पर्कमा रहनका लागि २०७६ साल पुसमा समूह बनाएका हौं,’ समूहका उपाध्यक्ष रहेका लक्ष्मण बानियाँले भने । त्यो समूहका साथीहरुका बाआमाका लागि सम्मान कार्यक्रम गर्ने योजनालाई शनिबार मूर्तरुप दिएको उनले बताए । साथीहरुमध्ये ४० जना मात्रैको बाआमा वा आमा बामध्ये एक जीवित रहेछन् ।

‘हामीले सबलाई निमन्त्रण गरेका थियौं । अरुलाई आउन सम्भव भएन । कोही कता, कोही कता बस्नुहुन्छ । चितवनमै बस्ने र टाढा भए पनि आउन अनुकूल परेका २५ जना साथीका बाआमा आज आउनुभयो,’ उपाध्यक्ष बानियाँले भने ।

‘बालबालिकाको शिक्षाको पहिलो पाठशाला घर हो र बाआमा पहिलो शिक्षक हुन् । त्यसैले हामीले हाम्रा अभिभावकका लागि सम्मान कार्यक्रम राखेका हौं,’ समूहका अध्यक्ष बद्री खनालले भने । सन्तानको शिक्षाका लागि बाबुआमाले ठूलो मेहनत गर्ने हुँदा त्यसको गुन तिर्न पनि वृद्धवृद्धा अवस्थामा रहेका बाबुआमाका लागि ‘अभिभावक सम्मान’ कार्यक्रम गर्ने सोच जन्मेको अध्यक्ष खनालले बताए । 

२०२२ सालमा स्थापना भएर २०३२ सालदेखि बालकुमारी माविका विद्यार्थीले एसएसली परीक्षा दिन सुरु गरेका थिए । बालकुमारी माविका विद्यार्थी सुनिल रत्नकंसाकार २०३२ सालको एसएलसी परीक्षाको नतिजामा नेपालभर पहिलो भएका थिए । २०३३ सालमा चौथो र २०३४ सालमा दोस्रो स्थानमा आएको विद्यालय प्रशासनले जनाएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully