हेटौंडा — मकवानपुरको चेपाङ बाहुल्य एक गाउँपालिकाका बालबालिकामा कुपोषणको अवस्थामा सामान्य सुधार आएको छ । जिल्लाको विकट राक्सिराङ गाउँपालिकाले बालबालिकामा देखिएको कुपोषणको अवस्थामा सुधार ल्याउन पोषणयुक्त खाद्य वस्तुहरु वितरण र चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेपछि यो सम्भव भएको हो ।
गाउँपालिकाले कुपोषण चेपाङ स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत कुपोषणको परीक्षण एथ्रोमेट्रिक मापन (लेखाजोखा) कार्यक्रम वैशाख १ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । राक्सिराङ गाउँपालिकाको ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको कुपोषणको लेखाजोखा (स्वास्थ्य परीक्षण) गर्ने क्रममा अतिशिघ्र कडा कुपोषणको शिकार ५५ जना बालबालिका भेटिएका छन् ।
११४ जना बालबालिकामा मध्यम कुपोषण फेला परेका छन् । अघिल्लो वर्षको भन्दा यो वर्षको संख्या कम देखिएकाले कुपोषण हुने बालबालिकाको संख्या घटेको राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयी कापरीले दाबी गरे । गत आवमा कुपोषणको लेखाजोखा गर्दा कडा कुपोषणबाट प्रभावित ९१ जना बालबालिका फेला परेका थिए ।
कडा कुपोषण हुने बालबालिका संख्या ३६ जना घटेको छ । यसैगरी गत आवमा मध्यम कुपोषण हुने बालबालिकाको संख्या २ सय १८ थियो भने अहिले त्यो संख्या घटेर ११४ मा झरेको छ । गत आवमा गाउँपालिकाका ९ वटै वडाका १ हजार २ सय १९ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा कडा कुपोषण र मध्य कुपोषण गरी ३ सय ९ जना बालबालिका कुपोषणबाट ग्रसित भेटिएका थिए भने यो चालु आवमा ६ महिना देखि ५९ महिनासम्मका १ हजार ३ सय २४ जनाको कुपोषण लेखाजोखा अर्थात मापन गर्दा अहिले १६९ जना बालबालिका कुपोषणबाट ग्रसित भएको भेटिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख कापरीले बताए ।
चालू आवको बैशाख महिनामा २० दिन कुपोषणको लेखाजोखा कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा ५२ जना स्वास्थ्यकर्मी खटिएका थिए । गाउँपालिकाको ७२ वटा टोलमा स्वास्थ्यकर्मीहरु पुगेर कुपोषणका लेखाजोखा गरेका थिए । राक्सिराङ गापा–७ अत्यन्त दुर्गम बस्ती धिराङका ३ सय १९ बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्दा १५ जनामा कडा कुपोषण र ३१ जनामा मध्यम कुपोषण फेला परेको कापरीले बताए ।
यसैगरी राक्सिराङ गाउँपालिका–९ खैराङ, कोखारीमा २ सय ७५ जना बालबालिकामा गरिएको कुपोषणको लेखाजोखामा ७० बालबालिकामा कुपोषण फेला परेको छ । स्वास्थ्यकर्मीले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको तौल, उचाई र पाखुराको नापन लिएर कुपोषण भए/नभएको छुट्याउने गरेका छन् ।
