कान्ति लोकपथ बुधबारदेखि चार दिन बन्द हुने

जेष्ठ २०, २०८२

प्रताप विष्ट

Kanti Lokpath will be closed for four days from Wednesday

हेटौंडा — कान्ति लोकपथमा चार दिन सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ । 

मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेली ब्रिज निर्माण गर्नुपर्ने भएकोले बुधबारदेखि अर्थात् जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म अर्थात् चार दिनका लागि कान्ति लोकपथ बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । एक सूचना जारी गर्दै स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सूचित गरेको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती खोलाको पुलको गत असोज ११ र १२ गते बाढीले बगाएको थियो । पुलको दुवैतर्फ भाग बगाएको थियो । माटो र बालुवाको पुलको पहुँचमार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । उक्त पहुँचमार्ग पनि पटक/पटक बाढीले बगाएर कान्ति लोकपथमा सवारी साधन आउजाउ समस्या हुँदै आएको थियो ।   

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully