हरायो भनिएको बाह्रसिंगा चितवनमा फेरि देखियो

जेष्ठ १९, २०८२

रमेशकुमार पौडेल

The twelve elephants that were said to be lost were seen again in Chitwan

चितवन — शुक्लाफाँटाबाट स्थानान्तरण गरेर चितवन निकुञ्जको पूर्वी क्षेत्रमा छाडिएकामध्ये एक बाह्रसिंगा लामो समयको अन्तरालपछि पुन: देखा परेको छ । २०७४ सालको वैशाखमा शुक्लाफाँटाबाट ल्याइएका सात बाह्रसिंगा सोही वर्षको बर्खामा आएको बाढीपछि केही मरेका थिए भने एउटाको अवस्था अज्ञात थियो । 

सरकारले २०७३ सालको हिउँदमा कोशीबाट अर्ना ल्याएर चितवन निकुञ्जभित्र रहेको पुरानो बस्ती बाहिर सारेपछि खाली भएको पदमपुरमा तारबार गरेर राखेको थियो । सोही तारबारभित्र अर्नासँगै बाह्रसिंगा पनि राखिएका थिए । पाँच पोथी र दुई भाले बाह्रसिंगामध्ये दुई पोथी ल्याउने बित्तिकै मरेका थिए । अन्य चार पनि विभिन्न कारणले मरेका थिए । अर्ना रहेको खोरमा बाढी पसेर क्षति पुगेपछि रोग र बाघले आक्रमण गर्दा अर्ना पनि सबै मरेर सकिएका छन् । एउटा बाह्रसिंगाको अवस्था यकिन हुन सकेको थिएन ।

नेचर गाइड उपकार महतोले शनिबार कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाह्रसिंगाको तस्बिर खिचेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापाले कुमरोज वन क्षेत्रमा चित्तलको बथानसँगै एउटा पोथी बाह्रसिंगा केही समययता देखा परि रहेको बताए ।

'चितवनमा पहिला बाह्रसिंगा थिएन । स्थानान्तरण गरेर ल्याएकामध्ये एउटाको अवस्था अज्ञात थियो । कुमरोज वन क्षेत्रमा देखिने त्यही नै हुनु पर्छ,' संरक्षण अधिकृत थापाले भने ।

गत वर्ष पनि अन्य नेचर गाइडहरूले बाह्रसिंगा देखेको र पछिल्लो समय फेरि नभेटिदा मर्‍यो कि भन्ने शंका लागेका बेलामा फेरि देखिनु सुखद् भएको तस्बिर खिचेका उपकार महतोले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully