थाहाबाट बर्सेनि एक अर्बको आलु निर्यात
हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाका बासिन्दालाई यतिबेला आलु खन्न भ्याइनभ्याइ छ । थाहा नगरपालिकाको १२वटै वडाका किसानहरुको आलु भित्र्याइरहेका छन् ।
माघमा रोपेको आलु बैशाख महिनाको अन्तिम सातादेखि खन्ने काम सुरु हुन्छ । यो वर्ष मौसम राम्रो भएकाले आलुको उत्पादन बढेको छ ।
‘आलुको उत्पादन रामै छ,’ स्थानीय कृषक सुदर्शन विष्टले भने, ‘आलु खरिद गर्न वाहिरवाट पनि व्यापारीहरु आएर आलु खरिद गरिरहेका छन् ।’
सेतो आलु प्रतिकेजी २० रुपैयाँ र रातो आलु प्रतिकेजी २२ रुपैयाँमा बिक्री हुने गरेको छ । गत वर्षको भन्दा यो वर्ष प्रतिकेजी आलुमा २ रुपैयाँ मूल्य बढी छ ।
यहाँ उत्पादित बेमौसमी आलु रगन्ज, काठमाडौं, हेटौंडा, चितवन, कलैया, पोखरालगायतका शहरमा जाने गरेको छ । कृषि शाखाका अनुसार थाहा नगरपालिकाबाट मात्र बर्सेनि करिब एक अर्ब रुपैयाँको आलु निर्यात हुने गर्छ ।
यस क्षेत्रका कृषकहरुले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योती जातका आलु लगाउने गर्छन् । थाहा नगरपालिकाका कृषि शाखा प्रमुख सन्जय अधिकृत तिवारीका अनुसार नगरपालिका क्षेत्रमा ६ हजार ३ सय रोपनीमा आलु खेती गरिन्छ । गत वर्ष झण्डै ७ हजार टन आलु उत्पादन भएको थियो ।
यो वर्ष पनि त्यसकै हाराहारीमा आलु उत्पादन हुने तिवारी बताउँछन् ।
