चितवन — दुध उत्पादन गरेर बिक्री गर्ने किसानहरू गाईभैंसीलाई दाना, पराल जुटाउन बढी ध्यान दिन्छन्। तर दुधालु पशुले खोजेको बेलामा पानी खान पाए/नपाएको हेक्का कमैले राख्छन्। हरियो घाँस खुवाउने गरे दुध उत्पादन बढ्छ भन्ने जानकारी भए पनि भुसा, पराल नै दिन्छन्।
जमिन नभएर घाँस लगाउन सकेका छैनन्। घाँस पानीको राम्रो प्रबन्ध गरे दुध उत्पादन त बढ्छ नै। लागत पनि घट्ने अगुवा किसानको अनुभव छ।
रत्ननगरका किसान किशोर बगालेको गोठमा ४५ वटा गाई छन्। दिनमै चार सय लिटरसम्म दुध बेच्ने बगालेले परालको सट्टा प्रशस्त हरियो घाँस खुवाउँछन्। उनले चार बिघा खेतमा गाईलाई खुवाउने घाँस लगाएका छन्। जग्गा भाडामा लिएर घाँस खेती गरे पनि पराल किन्नुभन्दा सस्तो गर्ने उनको अनुभव छ।
हरियो खान पाए गाईले दुध पनि धेरै दिने गरेको उनले बताए । ‘तीन वर्षअघि हिउँदमा निकै सुक्खा परे घाँस फस्टाएन । २१ दिनसम्म पराल खुवाउनु पर्दा १५० लिटर दुधबाट ७० मा झर्यो,’ बगालेले भने । भरतपुर महानगरपालिका–१३ चम्पानगरका किसान कृष्णप्रसाद चापागाईँ धान रोप्ने खेतमा नै घाँस लगाइरहेको बताए।
झन्डै एक बिघा खेतमध्ये उनले ६ कट्ठामा सुपर नेपिएर जातको घाँस लगाएका छन् । ‘गाईभैंसी पाल्नेहरूले पानी, घाँसको राम्रो व्यवस्था गर्न सके खर्च कम हुन्छ । तर हाम्रो ध्यान किन्नुपर्ने पराल र महँगो दाना, चोकरमा बढी छ,’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका किशोर बगालेले भने । उनले गोठका गाईलाई हरियो घाँस मात्रै हैन तिर्खा लागे तत्कालै खान मिल्ने पानीको प्रबन्ध पनि गरेका छन्।
गाईको आहारा राख्ने सिमेन्टको डुँड आडमा सानो बाटा जस्तो बस्तु छ । जसमा पानीको पाइप जडान भएको हुन्छ । तिर्खाएको गाईले बाटामा मुख राखे स्वचालित रूपमै पानी आउँछ । मुख झिके पानी रोकिन्छ । यसले गाईले चाहेका बेलामा पेटभरि पानी खान पाउने बगालेले बताए । किसानले दिनमा दुई या तीन पटकसम्म पानी दिनु भन्दा यसरी राख्दा धेरै फाइदा हुने उनको भनाइ छ ।
गाईभैंसीको खानपान र स्याहारमा ध्यान दिए दुध गुणस्तरीय र धेरै उत्पादन हुने गर्छ । ‘हामीलाई यी कुरा थाहा छ । संघसंस्था, वडा भेटनरीले धेरै पटक सिकाए पनि व्यवहारमा उतार्न खोजेको पाइँदैन । तर अब कम लागतमा गुणस्तरीय दुध उत्पादन गर्ने हो भने धेरै कुरा परिवर्तन गर्न आवश्यक छ,’ भरतपुर–६ केशरबागका अगुवा किसान भगिरथ तिमिल्सिनाले भने ।
किसानले उत्पादन गरेको दुध बिक्री नहुने, मूल्य नपाउने, कम मूल्यमा बेचेर पनि पैसा पाउन गाह्रो हुने समस्या टड्कारो रूपमा आएको छ । ‘यो अहिलेको समस्या हो तर हामीले जति पैसा पाएका हुन्छौँ त्यसमा धेरै पैसा दाना, चोकरको उधारो तिर्दा सकिन्छ । भनेपछि हामीले कसका लागि गाईभैंसी पालेका हौँ ? दाना चोकरमै निर्भर रहनुपर्ने बाध्यता हटाउन सकिँदैन र?,’ तिमिल्सिनाले भने ।
किसानले गर्नुपर्ने साना साना सुधारले दुध उत्पादन र दुधको गुणस्तर बनाउन कसरी भूमिका खेल्छ भन्ने बारेमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले जिल्लाका दुग्ध उत्पादक सहकारीका अगुवा किसानलाई तालिम दिन सुरु गरेको छ । जिल्ला दुग्ध सहकारीले पशु विकासका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनलसँग मिलेर तालिम दिन सुरु गरेको हो ।
तालिममा २५ जना पशु चिकित्सकले विभिन्न सहकारीका पुगेर किसानलाई दुध उत्पादनको प्रभावकारितासँग जाडिएका स–सानादेखि गम्भीर विषयका बारेमा प्रशिक्षण दिन सुरु गरेका छन् । हाम्रै बाउ बाजेले गर्ने परम्परागत तौर तरिकामा पनि वैज्ञानिक आधार रहने तालिम दिने पशु चिकित्सकले बताउने गरेका छन् ।
‘हाम्रै गाउँ घरमा पनि पहिला पहिला दुध दुहे लगत्तै गाईभैंसीलाई बस्न दिनु हुँदैन भनेर घाँस पानी दिइन्थ्यो । यसमा पनि आधार छन् । खास गरेर थुनेलोको संक्रमण रोक्न यो सहयोगी हुन्थ्यो,’ खैरहनी नगरपालिका–१ ज्यामिरको कामधेनु दुग्ध उत्पादक सहकारी संस्थाका किसान सहभागी तालिममा पशु चिकित्सक डा. सुरक्षा कट्टेलले भनिन् । दुध दुहेको १०/१५ मिनेटसम्म दुध आउने नसाको मुख खुला रहने गर्छ ।
खुला रहेका बेलामा बसे गोठको अवस्था राम्रो नभए संक्रमण हुने र थुनेलोलगायतका समस्या सुरु हुने खतरा रहने डा.कट्टेलले सुनाइन् । पशु स्याहारसँग जोडिएका यस्ता साना विषयले पनि किसानलाई धेरै सहयोग पुग्ने उनको भनाइ थियो ।
‘अगुवा किसान र पशु चिकित्सकलाई दुई दिनसम्म राखेर हामी यस्ता विषय जानकारी गराउने छौँ । १४ महिनाको अवधिमा पाँच हजार किसानलाई प्रशिक्षित गर्ने योजना छ,’ अध्यक्ष बगालेले भने । दुध उत्पादनको उपयुक्त विधि, प्रविधि र किसानहरूले गर्दै आएका असल अभ्यासलाई अपनाएर गुणस्तरीय दुध उत्पादन बढाउने योजना रहेको बगालेले बताए ।
‘गुणस्तरीय दुधलाई बजारसम्म पुर्याउन हामी डेरी मार्ट खोल्ने योजनामा पनि छौँ । जहाँ चितवनका किसानले उत्पादन गरेका दुधबाट नयाँ, नौला र पुराना परिकार बनाएर राख्ने र सहकारीले नै किसानको उत्पादन बिक्री गर्ने लक्ष्य हाम्रो हो,’ अध्यक्ष बगालेले भने ।
