काभ्रे — धुलिखेलस्थित पात्लेखेतमा ट्रक र जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
शनिबार बिहान ६ः५० बजेको समयमा जिल्लास्थित बीपी राजमार्ग अर्न्तगतको धुलिखेल–भकुण्डे सडक खण्ड अर्न्तगत धुलिखल नगरपालिकाको– ११, पात्लेखेतमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशा काठमाडौंबाट सप्तरीतर्फ जाँदै गरेको बा १९ च २८८८ नम्बरको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परी जीपमा सवार सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–१ की ४० वर्षीया ललिता चौधरी, ३५ वर्षीया बबिता चौधरी र उनका ७ वर्षीया छोरा प्रभास चौधरी घाइते भएका छन् ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको प्रहरीले जनाएको छ ।
