सिन्धुपाल्चोक — जिल्लाको इन्द्रावती गाउँपालिका-१, सिम्पालकाभ्रे गोल्मेस्थित मखमलीमा स्थानीयले शौचालयको जग खन्दा भेटिएको ग्रिनेड निष्क्रिय पारिएको छ ।
जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार शुक्रबार नेपाली सेनाको टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको हो । यसबारे जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक मधु खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थललाई सुरक्षित राखेर सेनाको युनिटलाई खबर गरिएको प्रहरीले जनाएको छ । बुधबार भेटिए पनि सेनाको हेडक्वार्टरबाट अनुमति लिन समय लागेकाले शुक्रबार निष्क्रिय बनाइएको प्रहरीको भनाइ छ ।
बुधबार घर नजिक शौचालय निर्माणका लागि जग खन्ने क्रममा ग्रिनेड जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरेको स्थानीय आलेमगरले बताए । 'आहिले बम डिस्पोज भएपछि त्रसित स्थानीय निश्चिन्त भएका छन्, दुई दिनसम्म त्रासमा थियौं,' उनले भने ।
