पुलको पहुँचमार्ग मर्मतसम्भारपछि सञ्चालनमा आयो कान्ति लोकपथ

बागमती खोलाबाट ट्यांकर र डिब्बा ट्रक निकालियो

जेष्ठ १६, २०८२

प्रताप विष्ट

Kanti Lokpath came into operation after the bridge access road was repaired

हेटौंडा — कान्ति लोकपथ बिहीबार रातिबाट सवारी साधन आउजाउ गर्न थालेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पहुँचमार्ग पुनः निर्माण गरेपछि कान्ति लोकपथ सञ्चालनमा आएको हो  ।

बागमती पुलको मकवानपुरतर्फको पहुँचमार्ग बागमती खोलाले बगाएका कारण कान्ति लोकपथ बिहीबार बिहान अवरुद्ध रहेको थियो  । 

पहुँचमार्गको निर्माणको साथै कान्ति लोकपथको भर्‍याङडाँडाको पहिरो हटाएपछि बिहीबार रातिदेखि कान्ति लोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 

बिहीबार बिहान बागमती खोलाले बगाएको प्रदेश २– ०३– ००१ क २०३१ नम्बरको डिजेल बोकेको ट्यांकर बागमती खोलाबाट सुरक्षित निकालिएको छ । अमलेसगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको डिजेल बोकेर गुडिरहेको ट्याङ्कर पुलमा उक्लने क्रममा पहुँचमार्गबाट चिप्लिँदा ब्याक भएर बागमती खोलामा खसेको थियो । बागमती खोलाले ट्यांकरलाई सय मिटर तल पुर्‍याएको थियो । खोलाको बहाव घटेपछि ट्यांकरलाई खोलाबाट बिहीबार राति निकालिएको प्रवक्ता अर्यालले बताए । ट्यांकरबाट डिजेल पनि पोखिएको थिएन । 

यसैगरी कान्ति लोकपथ हुँदै वीरगन्जबाट काठमाडौँतर्फ भान्साको सामान लोड गरेर गइरहेको ना ३ ख ५१९६ नम्बरको डिब्बा ट्रक बागमती खोलाले बगाएका थियो । डिब्बा ट्रक पनि सामानसहित खोलाबाट निकालिएको छ । बागमती पुल नजिक२०० मिटर उत्तरतर्फ पार्किङ गरी राखेकोमा खोलाको बहाव बढेपछि डिब्बालाई बगाएर तल पुर्‍याएको थियो । खोलाको बहाव घटेपछि बिहीबार बेलुका डिब्बा ट्रक पनि निकालिएको छ  ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully