बागमती खोलाले ट्यांकर बगायो, कान्ति लोकपथ अवरुद्ध

जेष्ठ १५, २०८२

प्रताप विष्ट

Tanker washed away by Bagmati River, Kanti Lokpath blocked

हेटौंडा — कान्ति लोकपथ बिहीबार बिहानदेखि अवरुद्ध छ । मकवानपुरतर्फको बागमती पुलको पहुँच मार्ग बगाएपछि लोकपथ अवरुद्ध बनेको हो ।  

यस्तै, पुलको पहुँचमार्ग हुँदै ललितपुरतर्फ गइरहेको प्रदेश २-००३-०१ क २०३१ नम्बरको डिजेल बोकेको ट्यांकर बागमती खोलामा आएको बाढीले बगाएको छ । ट्यांकर पुलबाट करिब २ सय मिटर तल बागमती खोलामा देखिन्छ । पुलको पहुँच मार्ग नै बगाएकाले लोकपथ सञ्चालनमा आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

यस्तै, भान्साको सामान लिएर हेटौंडा हुँदै काठमाडौंतर्फ गइरहेको ना ३ ख ५१९६ नम्बरको डिब्बा ट्रक पनि  खोलामा फसेको छ । बागमती पुलबाट २०० मिटर उत्तरतर्फ पार्किङ गरी राखेकामा खोलामा आएको बाढीले बगाएको थियो । बुधबार राति यहाँ ठूलो पानी परेको थियो ।

कान्ति लोकपथको ठिगन नजिकै भर्‍याङडाँडामा गएको सुक्खा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully