हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिकामा गोठ र भान्सामा आगलागी हुँदा गोरु, बाख्रा र कुखुरा जलेर मरेका छन् ।
आगो नियन्त्रणमा लिने क्रममा सिलिण्डर पड्किएर २६ वर्षीय मन कुमार स्याङबो घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
मनहरी गाउँपालिका–२ भुन्दुङका सुरेन्द्र राईको गोठ र भान्सामा बुधवार अपरान्ह आगलागी हुँदा एक हल गोरु, सात वटा बाख्रा र १५ वटा कुखुरा जलेर मरेका हुन् । भान्सामा रहेको २ वटा ग्यास सिलिण्डर पनि पड्किएको थियो ।
आगालागीबाट भान्सामा भएका सबै भाँडाकुडा जलेर नष्ट भएका छन् । आगलागीबाट पशुचौपाया, काठ, जस्तापाता, ग्यास सिलिण्डर, भाँडाकुडा लगायतका सामान गरी करिब ५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।
