भीरमा मोटरसाइकल भेटियो, मान्छे भेटिएनन्

जेष्ठ १४, २०८२

रमेशकुमार पौडेल

A motorcycle was found in Bhir, but no people were found

चितवन — पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ मुग्लिन नजिक नाग्दी खोला आडको भीरमा त्रिशूली नदीतर्फ बुधबार साँझ एउटा मोटरसाइकल भेटिएको छ । माोटरसाइकल चालक या अन्य कोही फेला नपरेको हुँदा प्रहरीले खोजी कार्य सुरू गरेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार साँझ ५ बजेतिर बा प्र ०२-०५५ प ७३४८ नम्बरको मोटरसाइकल भीरबाट नदीतर्फ खसेको जानकारी मुग्लिन ईलाका प्रहरी कार्यालयमा आएको थियो । घटनास्थलमा मोटरसाइकलबाहेक अरू फेला नपरेपछि प्रहरीले अस्पतालहरूमा पनि बुझेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए ।

मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका १० जना सशस्त्र प्रहरी खोजीमा जुटेको डीएसपी खनालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully