हेटौंडा — ६ दिनदेखि बेपत्ता भएका मनहरीका श्यामबहादुर ब्लोनको शव निकुञ्जको जंगलमा फेला परेके छ ।
पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र निउरो र च्याउ खोज्न गएका मनहरी गाउँपालिका–२ का ६२ वर्षीय श्यामबहादुर ब्लोनको शव पर्सा पटेर्वासुगौली गाउँपालिका–१ रामभऔरी नजिकै रहेको सितलपुर जंगलमा सोमबार उनको शव फेला परेको हो ।
निउरो र च्याउ खोज्न उनीसहित तीन जना बिहीबार पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा गएका थिए । उनीसँग २८ वर्षीय श्रवणकुमार ब्लोन र ५० वर्षीय भक्तबहादुर आलेमगर निउरो र च्याउ टिप्न पर्सा राष्ट्रिय निकुञ्जको जंगल छिरेका थिए । तर उनीहरु शनिबार नै घर फर्के तर ब्लोन जंगलमा नै हराएका थिए ।
मकवानपुर मनहरी गाउँपालिका–२ का वडाध्यक्षसहितको टोली ई.प्र.का.पटेर्वासुगौली पर्सामा गएर जानकारी गराए पश्चात ई.प्र.का.पटेर्वासुगौली पर्साबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा ब्लोनको शव पर्सा पटेर्वासुगौली गाउँपालिका–१ रामभऔरी नजिकै रहेको सितलपुर जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
जंगली जनावरले आक्रमण गरेर मारेको हुनसक्ने प्रहरी निरिक्षक प्रकाश थापाले बताए । पोष्टमार्टम गर्न ब्लोनको शवलाई नारायणी अस्पताल वीरगंज लगिएको छ ।
