हेटौंडा — ६ दिनदेखि बेपत्ता भएका मनहरीका श्यामबहादुर ब्लोनको शव पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको छ। पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र निहुरो र च्याउ खोज्न गएका मनहरी गाउँपालिका–२ का ६२ वर्षीय श्यामबहादुर ब्लोनको शव पर्सा पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको शीतलपुर जंगलमा सोमबार फेला परेको हो।
निहुरो र च्याउ खोज्न उनीसहित तीन जना बिहीबार पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा गएका थिए। उनीसँग २८ वर्षीय श्रवणकुमार ब्लोन र ५० वर्षीय भक्तबहादुर आलेमगर निहुरो र च्याउ टिप्न पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा प्रवेश गरेका थिए। तर उनीहरू शनिबार नै घर फर्किए, तर ब्लोन जंगलमै हराएका थिए।
मकवानपुर मनहरी गाउँपालिका–२ का वडाध्यक्षसहितको टोली ईप्रका पटेर्वासुगौली पर्सामा गएर जानकारी गराएपछि ईप्रका पटेर्वासुगौली पर्साबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा ७ जनाको प्रहरी टोलीले खोजतलास गर्दा ब्लोनको शव पर्सा पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकै रहेको सितलपुर जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने प्रहरी निरीक्षक प्रकाश थापाले बताए। पोस्टमार्टम गर्न ब्लोनको शव नारायणी अस्पताल वीरगन्ज लगिएको छ।
