ब्रेक फेल भएको बसले ठक्कर दिँदा दुई जना पैदलयात्रुको मृत्यु, चार जना घाइते

जेष्ठ १२, २०८२

प्रताप विष्ट

Two pedestrians killed, four injured after being hit by a bus with brake failure

हेटौँडा — त्रिभुवन राजपथको थाहा नगरपालिका-३ मा भएको बस दुर्घटनामा पैदलयात्रु २ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्। 

बसले ठक्कर दिँदा घाइते भएका अन्दाजी ४० वर्षीय कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको हो। उनीहरू दुवैको ठेगाना भने खुल्न सकेको छैन। ठाकुर थाहा नगरपालिकास्थित विद्यालयका शिक्षक हुन्।

दुर्घटनामा परी रघुनन्दन यादव, कमलेश कुमार साह, छेयाङ दोर्ज लामा र रामगुलाम चौधरी घाइते भएका छन्। घाइते यादव र साहको अवस्था गम्भीर भएकाले उपचारको निम्ती काठमाडौँतर्फ लगिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

चौधरी र लामाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । मृतकद्वय र घाइते चार जना पैदल यात्रु हुन्। गोपाली गाँउबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेका ६ जनालाई  ठक्कर दिई थाहा नगरपालिकाको उप–मेयर भरत गोपालीको घर भित्र बस पसेको थियो । बस चालक  मकवानपुर थाहा नगरपालिका-५ बसन्त २९ वर्षीय राजेश कार्की प्रहरी नियन्त्रणमा रहेका छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully