काठमाडौँ — चितवनका मकैमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँचजना किसान फौजी किराको समस्या लिएर आउने गरेका छन् ।
कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । 'यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी किराको संक्रमण नरोकिएको हो,' उनले भनिन्, 'मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको छ ।'
जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । 'कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन् । यामअनुसारको मकै र बेमौसमी मकै खेती हुने हुँदा किराको आक्रमण बढेको हो,' चौहानले भनिन्, 'जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो ।' धानमा पनि फौजी किरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उनले बताइन् ।
अमेरिकन फौजी किरा पुतली वर्गको रात्रिचर किरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्छ । मकैबाली मन पराउने किराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिइन् । उनका अनुसार यस किराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्याउने गर्छ । यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ ।
मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, किराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न उनले सुझाइन् ।
