गणतन्त्र दिवस मनाउन बागमतीमा प्रदेशस्तरीय मूल समारोह समिति 

नख्खु खोलामा आएको बाढीबाट २ जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई एक लाख ५० हजारसहित सम्मान गरिने

जेष्ठ ९, २०८२

प्रताप विष्ट

State level original function committee in Bagmati to celebrate Republic Day

हेटौंडा — गणतन्त्र दिवस २०८२ मनाउनका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको संयोजकत्वमा गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । समितिले जेठ १३ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रम गरी प्रदेश राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

बागमती खेलकुद परिषदको आयोजनामा खेलकुद, सामाजिक विकास मन्त्रालयको संयोजनमा निबन्ध प्रतियोगिता, चित्रकला प्रदर्शनीलगायत कार्यक्रम गर्ने निर्णय भएको छ । प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, सचिव, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्व सदस्य रहेको मूल समारोह समितिले १५ गते बिहान हेटौंडामा प्रभातफेरीसहित प्रवचनलगायतको कार्यक्रम गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता सुरजचन्द्र लामिछानेले बताए ।

कार्यक्रममा गत असोजमा ललितपुर नख्खु खोलामा आएको बाढीबाट २ जनाको उद्धार गर्ने काभ्रे घर भएका चणिकलाल तामाङलाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने प्रवक्ता लामिछानेले बताए । बागमती प्रदेश सरकारले तामाङलाई नगदसहित सम्मान गर्ने निर्णय गत असोजमा नै गरेको थियो । 

प्रताप

Link copied successfully