काठमाडौँ — बनेपामा एटीएम मेसिन फोड्ने एक जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख गाउँपालिका–८ घर भएका ३० वर्षीय बुद्धिलाल तामाङ छन् ।
बुधबार करिब ११:४० बजे नबिल बैंकको बनेपा नगरपालिका-७ मा रहेको एटीएम मेसिन फोड्ने प्रयास भइरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।एटीएम मेसिन फोड्दै गरेको अवस्थामा रड र हतौडासहित तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय राखेर तामाङमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
