भीमफेदी दुर्घटनाका घाइतेको हेटौंडामा उपचार हुँदै

जेष्ठ ६, २०८२

प्रताप विष्ट

The injured of the Bhimphedi accident are being treated in Hetaunda

हेटौंडा — त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-९ मा यात्रुवाहक भ्यान दुर्घटनामा घाइते भएका १४ जनाको  हेटौंडाका दुई अस्पतालमा उपचार भइरहेको छ । मंगलबार दिउँसो १ बजे भीमफेदी गाउँपालिका–९, छैसठ्ठी मोडमा गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते सर्लाही लालबन्दी नगरपालिका–१५, परमानीपुरकी २८ वर्षीया अम्बरी लो लामा, लालबन्दी–१६ परमानीपुर भोलोनाका ३६ वर्षीय रितिक राई, ४५ वर्षीय पदमबहादुर श्रेष्ठ, ५१ वर्षीय राजाराम बस्नेत, ३० वर्षीया शान्ता विक, लालबन्दी–१ नवलपुरका ५६ वर्षीय कमल थापाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी लालबन्दी नगरपालिका–४, का सरोजकुमार चौधरी, लालबन्दी नगरपालिका–१५, का २७ वर्षीया निर्मला विक, २२ वर्षीया निलिमा खड्का, २२ वर्षीया सीमा घलान, लालबन्दी नगरपालिका–५, का ५० वर्षीया समिर सुवेदी, लालबन्दी–१६ की २७ कि कल्पना विक, २५ वर्षीया सुष्मा विक, ३२ वर्षीया पवित्रा घिसिङलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।

३ जना गम्भीर घाइते, ८ जना मध्यम र ३ जना सामान्य घाइते रहेका छन् । घाइतेमध्ये पुरुष ६ र महिला ८ जना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए । 

चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर भ्यान गाडी सडकबाट २० मिटर तल खसेको थियो । ब्रेक फेल भएर दुर्घटनाग्रस्त गाडी सल्लाको रुखमा अड्किएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully