प्लाष्टिकका भाँडाकुँडा विस्थापित गर्न पातका दुना-टपरी

जेष्ठ ५, २०८२

प्रताप विष्ट

Leaf litter to replace plastic containers

हेटौँडा — मकवानपुरको एक दुर्गम गाउँपालिकाले प्लाष्टिकजन्य भाँडाकुँडाहरु विस्थापित गर्ने उद्देश्यले गाउँमै दुना-टपरी उत्पादन गर्न थालेको छ। राक्सिराङ गाउँपालिकामा सालको पातबाट दुना टपरी उत्पादन गर्न थालिएको  हो ।

गाउँपालिकाको वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरेर गाउँपालिकाले दुना टपरीको व्यावसायिक रूपमै उत्पादन गर्न लागेको हो । 

आधुनिक ढंगले सालको पातको दुना टपरी उत्पादन गर्न गाउँमै  दक्ष जनशक्ति तयार गर्न गाउँपालिकाले १५ दिने दुना टपरी बनाउने तालिम संचालन गरिसकेको छ। दुना टपरी बनाउने आधुनिक मेशिनसमेत सिद्धार्थ हरियाली सामुदायिक वनलाई  पालिकाले हस्तान्तरण गरेको छ ।

आइतबार आयोजित तालिमको समापन समारोहमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतसहितले दुना टपरी बनाउने मेशिन वन समूहलाई हस्तान्तरण गरेका थिए । 

'गाउँपालिकामा प्लास्टिकजन्य वस्तुको विस्थापनको साथै न्यूनीकरण गर्न सालको दुना टपरी उत्पादन गरेर गाउँमै प्रयोगमा ल्याउने उद्देश्य रहेको छ,' अध्यक्ष मल्लले भने, ‘पालिकाले निकट भविष्यमै गाउँपालिकामा प्लास्टिकबाट बनेका भाँडाकुँडा प्रयोगमा रोक लगाउने योजना रहेको छ।’

सालको पातको दुना टपरी उत्पादन गर्ने समूहलाई आत्मनिर्भर नभएसम्म अनुदान दिने नीति रहेको पालिकाले अनुदान दिने बताएका छन् । स्थानीय स्तरमै बनेको दुना टपरीलाई व्यावसायिक बनाएर खेर जाने सालको पातबाट आर्थिक लाभ लिन सकिने जनप्रतिनिधिको अपेक्षा छ । 

तालिममा सहभागीहरूले पातबाट दुना, टपरी र कचौरा जस्ता सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने विधि, मेसिनको प्रयोग तरिका तथा उत्पादनलाई बजारसम्म पुर्‍याउने उपायहरू सिकेका थिए । तालिममा सहभागी महिलाहरूले आफूहरूलाई आत्मनिर्भर बनाउने मौका मिलेको भन्दै खुसी व्यक्त गरेका थिए।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully