गाउँपालिकाको विज्ञप्ति लत्त्याउँदै पूर्वमन्त्री बस्नेतले गरे खानेपानी योजनाको उद्घाटन

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Ex-minister Basnet inaugurated the drinking water scheme while posting the announcement of the municipality

सिन्धुपाल्चोक — लिसंखुपाखर गाउँपालिका–२, निगालेमा आयोजित विवादित कार्यक्रममा प्रमुख अतिथि बनेर पूर्वमन्त्री मोहनबहादुर बस्नेतले खानेपानी योजनाको उद्घाटन गरेका छन्।

सोमबार लिसंखुपाखर–२, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन कार्यक्रम तोकिएको समयमा स्थानीयबीच सम्पन्न गरिएको हो।

स्थानीय र जनप्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा बस्नेतले उद्घाटन गरी आफ्नो भनाइ राखेका थिए। जनताको सुख दुःखमा आफू रहेको र थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यसअघि टेरामक्स प्रविधि खरिदमा अनियमितताको आरोप लागेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद बस्नेतको पद निलम्बनमा परेको थियो।

उक्त कार्यक्रममा सहभागी नहुन र नगर्न लिसंखुपाखर गाउँपालिकाले विज्ञप्ति जारी गर्दै चेतावनीसमेत दिएको थियो। लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले गाउँपालिकाद्वारा सम्पन्न खानेपानी योजनाको कार्यक्रमसम्बन्धी जारी विज्ञप्तिलाई लत्त्याएर जबरजस्ती कार्यक्रम गरिएको बताए।

यसअघि उनले कालो झन्डा देखाउन हिँडेका वाईसिएल र स्थानीयलाई संयमित भएर फर्कन प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले दिएको भन्दै सामाजिक सञ्जाल मार्फत  स्ट्याटस सार्वजनिक गरेका थिए।

मंगलबार सुनकोशी गाउँपालिका–२, ठोकर्पामा पनि बस्नेत प्रमुख अतिथि बनेर स्वास्थ्य चौकी भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। सो कार्यक्रमप्रति आपत्ति जनाउँदै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले गाउँपालिका क्षेत्राधिकारमा हस्तक्षेप गरी कार्यक्रम आयोजना नगर्न निर्देशनसहित विज्ञप्ति जारी गरेका छन्।

कान्तिपुर

Link copied successfully