काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) सिभिल इन्जिनियरिङ क्लबले आफ्नो वार्षिक कार्यक्रम 'संकल्प' सम्पन्न गरेको छ । वैशाख १५ मा सुरु कार्यक्रम बिहीबार सकिएको हो । दुई सातासम्म विविध प्राविधिक, शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा १० हजारभन्दा बढी विद्यार्थी, प्राध्यापक र युवाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन इन्जिनियरिङ इनोभेसन तथा उद्यमशीलतासम्बन्धी सेमिनारबाट भएको थियो । सेमिनारमा डा. सुवर्ण दास श्रेष्ठ, डा. रमेशकुमार मास्के, मिलन पाण्डे, तथा पूर्व मिस नेपाल एवं अर्बन प्लानर शृङ्खला खतिवडालगायतको उपस्थिति रहेको थियो ।
'संकल्प २५' अन्तर्गत विविध कार्यक्रम समावेश गरिएको थियो । जसमा फ्ल्यास मोब, लाइभ आर्ट, पद्य रात र एकुस्टिक नाइट, टक सो, स्कलर टक, एलुम्नाइ मिट सम्पन्न भयो । यस्तै, पेपर ब्रिज, सर्भे प्रतियोगिता, ट्रेजर हन्ट, क्विज तथा पब्लिक स्पिकिङ र विविध खेल प्रतियोगिता भएका थिए ।
टेक्निकल टक शोमा प्रमुख अतिथि कुलमान घिसिङ तथा विशेष अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले सहभागी थिए।
'संकल्प २५' ले विद्यार्थीहरूलाई नेतृत्व, नवप्रवर्तन र सञ्जाल निर्माणको उत्कृष्ट अवसर प्रदान गरेको सिभिल इन्जिनियरिङ क्लबका सचिव तथा प्रवक्ता युजन राजभण्डारीले बताए ।
