काठमाडौँ — काठमाडौँ–हेटौँडा सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिनसम्म बन्द हुने भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त सडक बन्द रहने भएकाले वैकल्किप मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफ्ठ्यारो नहोस् भनेर सूचित गरिएको बताए।
मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रहरीले कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकलाई वैकल्पिक मार्गकारुपमा प्रयोग गर्न समेत आग्रह गरेको छ।
