काभ्रे — सोमबार वर्षासँगै आएको बाढीले पनौतीबाट बेपत्ता भएकी महिला फेला नपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सोमबार साँझ ६ बजेको समयमा खेतमा काम गरेर फकर्ने क्रममा स्थानीय ३३ वर्षीया रेणुका गिरीलाई पनौती–५ स्थित ढलमलेको ठाडोखोलाले बगाएको थियो ।
सोमबारदेखि बाढीले बगाएर बेपत्ता भएकी उक्त महिला हालसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार, आज चौथो दिन पनि खोजी कार्य जारी छ ।
‘आज काठमाडौंबाट नेपाल प्रहरीको तालिमप्राप्त के ९ को डग टोली परिचालन गरिएको छ,’ उनले भने, ‘महिलाको खोजीको लागि काठमाडौंबाट ८ वटा तालिम प्राप्त कुकुर ल्याइएको छ, अहिलेसम्म ५ वटा कुकुरहरू परिचालन गरिएको छ, बिहानको ८:३० बजेदेखि नै घटनास्थलदेखि नै कुलो, खोल्सा–खोल्सी, झार, पुण्यमाता खोला हुँदै शंकास्पद स्थानमा खोजी कार्य जारी रहेको छ ।’
उनका अनुसार, हालसम्म प्राप्त जानकारीअनुसार, अहिले टोलीले पनौतीको लड्केश्वर आसपासको क्षेत्रमा खोजी गरिरहेको छ । उनको खोजीका लागि मंगलबार बिहानदेखि नै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीयलगायतले खोजी गरिरहेका छन् ।
