हेटौंडा — हेटौंडा-काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग कुलेखानी-कलंकी-हुमाने सडकखण्ड १९ दिन बन्द हुने भएको छ ।
पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचारबमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी-कलंकी-हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनका लागि जेठ २ गते अर्थात शुक्रबारदेखि जेठ २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको हो । सडक स्तरोन्नति कार्यको साथै कालोपत्रसमेत गर्ने भएकाले १९ दिन सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । उक्त सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरमार्फत ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतिको कार्य हुनुको साथै कालोपत्रेका लागि बेस बनाउने कार्य भइरहेको छ ।
१९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले उक्त अवधिमा हेटौंडा-काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । उक्त अवधिमा कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न आग्रह गरेको छ ।
