हेटौंडाबाट लागूऔषधसहित ६ जना पक्राउ

वैशाख ३०, २०८२

सुवास विडारी

6 people arrested with drugs from Hetaunda

मकवानपुर — मकवानपुर प्रहरीले हेटौंडाको दुई छुट्टाछुट्टै स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना लागुऔषध कारोबारीसमेत रहेका छन् ।

प्रहरी चौकी पदमपोखरीको टोलीले हेटौंडा–१३ बाट २५ वर्षीय अजित दोङ र २१ वर्षीय विनय लामाको साथबाट २५ क्याप्सुल लागुऔषध ट्रामाडोल फेला पारेको थियो । उनीहरुसँग सोधपुछ गर्ने क्रममा हेटौंडा–२ मानसचोकमा रहेको नेपाली चुलो होटलकी सञ्चालकसँग ट्रामाडोल खरिद गरेर ल्याएको बताएपछि प्रहरीले होटलमा छापा मारेको थियो । 

होटल सञ्चालक मकवानपुरको बागमती गाउँपालिका– ४ की सरिता माझीसहित सोही ठाउँका २२ वर्षीय उदेश राई र हेटौंडा–९ का २९ वर्षीय मनिष तिमल्सिनाको साथबाट २६२ क्याप्सुल ट्रामाडोल र ३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यस्तै मकवानपुर प्रहरीले हेटौंडा–१० राप्तीरोडस्थित सडक डिभिजन कार्यालय अगाडिबाट लागूऔषध ट्रामाडोल २० ट्याब्लेटसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११ का विनय लामा रहेका छन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना १३ प २१३६ नम्बरको मोटरसाइकलमा आएका लामालाई चेकिङ गर्ने क्रममा लागुऔषध ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ ।

लामालाई पनि जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully