काठमाडौँ — प्रमुख दलका सांसदहरूले समावेशी, सक्षम र सशक्त युवाको विकास गर्न राज्यको तीनै तहमा नीतिगत र संस्थागत विकास भए पनि कार्यान्वयन र युवाको सहभागिताको गतिलाई तीव्रता ल्याउन जरुरी रहेको बताएका छन् ।
प्रदेश युवा परिषद्द्वारा हेटौंडामा आयोजित तेस्रो बागमती प्रदेश युवा सम्मेलनको ‘नीति, नेतृत्व र युवा सहभागिता’ सत्रमा सांसदहरूले नयाँ संविधान बनेपछि युवामैत्री नीति, ऐन र कार्यान्वयन गर्ने संरचना तयार भएको बताए ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले युवालाई प्रोत्साहन गर्ने संरचनाको विकास भएकोले आफूले संसद्मा प्रवेश पाएको बताए । ‘हामीसँग युवालाई प्रोत्साहन गर्ने नीति र कानुन छ । स्थानीय, प्रदेश र संघीय सरकारमा युवालाई संक्षम र सशक्त बनाउने संरचना तयार छ । यसलाई सकारात्मक रूपमा लिन जरुरी छ,’ उनले भने,‘अहिले हामीलाई जनसांख्यिक लाभ छ । हाम्रो जनसंख्याको आकारमा ४२.५ प्रतिशत युवा छन् । उनीहरूलाई प्रत्यक्ष रूपमा सबै क्षेत्रमा संलग्नता गराउने, उद्यमशीलता र नेतृत्व विकासका लागि उचित कार्यक्रम ल्याउने विषयमा भने थप मिहेनत गर्नुपर्छ ।’
उनले अब राजनैतिक रूपमा युवाको अनिवार्य सहभागिता हुनुपर्नेमा जोड दिए । ‘राजनीतिले नै सबै क्षेत्रमा परिवर्तन गर्ने हो । युवाको सहभागिता अनिवार्य छ । युवाको सहभागिता भएन भने देशको विकास थप ५० वर्ष पर धकेलिने अवस्था छ,’ उनले भने ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले जेनजी र अल्फा पुस्ताले देखेको सपनालाई पूरा गर्न प्रभावकारी कार्यक्रम ल्याउन जरुरी भएको बताए । ‘हामीले पछिल्ला दुईवटा स्थानीय, प्रदेश र संघीय चुनाव तुलना गरौं । यसमा वडाध्यक्ष, पालिका प्रमुख, प्रदेश र संघीय संसद्मा युवाको सहभागिता बढेको छ,’ उनले भने,‘हामीसँग भएका नीति र कार्यक्रमले अल्फा र जेनजी पुस्तालाई सम्बोधन गर्नुपर्छ । नीति छ । तर प्रभावकारी कार्यान्वयन पर्याप्त भएन ।’ उनले नेपालको हरेक सामाजिक र राजनीतिक परिवर्तनको लागि युवाको संलग्नताबाट सम्भब भएको विषय नयाँ पुस्तालाई बुझाउन जरुरी भएको बताए ।
माओवादी सांसद पूर्णबहादुर रम्तेलले संविधान निर्माणपछि राज्यले युवाको लागि समनातको हक नै प्रदान गरेको बताए । ‘युवालाई संगठित र क्षमता वृद्धि गर्न समान अवसर दिइएको छ । समावेशी, सक्षम र सशक्त युवा विकास गर्ने कार्यक्रम छन्,’ उनले भने,‘तर, यसमा युवा सहभागिता कमजोर छ । कतिपय नीति र कार्यक्रम झन्झटिलो भए । यसले युवालाई आर्कषण गर्न सकिएन ।’
उनले जेनजीले देख्ने सपनालाई पूरा गर्न राज्यले दिने सेवालाई सहज बनाउन आवश्यक देखिएको बताए । ‘अहिले सबैमा असन्तुष्टि देखिएको छ । यो असन्तुष्टिले अझै केही गर्नुपर्छ भन्ने संकेत हो । एउटा टेबुलमा आधा पानी राखिएको गिलासलाई आशावादी युवाले भरिँदै गएको देख्छ,’ उनले भने,‘निरासावादी युवाले त्यसलाई रित्तिँदै गएको देख्छ । हाम्रो राज्य सञ्चालकले आफ्नो क्रियाकलापलाई सुधार्दै जाने ठाउँ छ ।’ आइतबारदेखि हेटौंडामा सुरु भएको सम्मेलनमा बागमती प्रदेशका सबै जिल्लाका ३ सय युवा सहभागी छन् ।
