चितवन — सीताबहादुर चेपाङको ठट्टा गर्ने बानी छ । ‘यो पाङ्ग्रोवाला जिनिस पनि हाम्रो काँध चढेर पो गाउँ आयो त,’ उनले हाँस्दै भने । ६० वर्ष पुग्न लागेका उनी मितेरी कृषक समूहका अध्यक्ष हुन् । यो कृषक समूहले कृषि विकास कार्यालय भरतपुरबाट खेत जोत्ने हाते ट्र्याक्टर (मिनी टिलर) अनुदानमा पायो । गुडेर खेत जोत्ने यो यन्त्रलाई स्थानीयले बोकेर गाउँ ल्याउन बाध्य थिए ।
राप्ती नगरपालिका–१३ मा परेपनि कान्दा गाउँबाट मोटर गुड्ने बाटो धेरै पर छ । त्यसैले पाङ्ग्रा भएको यन्त्र पनि गुडेर नभइ स्थानीयको काँध चढेर बल्ल गाउँ पुगेको हो ।
सदरमुकाम भरतपुरदेखि २२ किलोमिटर पर छ भण्डारा बजार । पूर्वपश्चिम राजमार्गछेउको भण्डाराबाट कान्दा पुग्न उत्तर लाग्नु पर्छ । भण्डाराबाट कतै पिच र कतै कच्ची हुँदै पहाडको अफ्ठ्यारो बाटोबाट गाडीमा अढाइ घन्टामा कालिटार पुगिन्छ । कालिटारमा गाडीबाट झरेपछि उकालो र साँघुरो बाटो पैदल डेढ घन्टा हिँडेपछि बल्ल कान्दा पुगिन्छ ।
जिल्लाको विकट पहाडी गाउँ कान्दामा सिमान्तकृत आदिवासी चेपाङ समुदायका मात्रै एक सय हाराहारी घर छन् । ‘चेपाङलाई सरकारले खासै वास्ता गरे झै त लाग्दैन । तर यो पटक हामीलाई खेत जोत्ने हाते ट्रयाक्टर पाइने खबर सुन्दा विश्वास नलागे पनि आज बोकेरै ल्याइयो,’ चेपाङले भने ।
भरतपुरबाट समान बोक्ने जीपमा राखेर शुक्रबार कालिटारसम्म पुगेपछि पावर टिलरलाई कान्दाबासीले बाँसको नोलमा बोकेर गाउँ लगेका हुन् । साँघुरो गोरेटो, ठाउँठाउँमा खुट्टा चिप्लने गरेका कारण निकै सम्हालिएर हिँड्नु परेको थियो । नोल दुई जनाले काँधमा राखे पनि दायाँबायाँ थप दुई युवासँगै हिँडेका थिए । कतै ढल्कन लागे या केही गाह्रो परेको संकेत आए उनीहरु दौडेर मेसिन समात्न जान्थे । निकै होसियारी साथ हिँडेर उनीहरुले शनिबार बिहानै हाते ट्र्याक्टर गाउँ पुर्याए ।
कृषि विकास कार्यालयले अनुदानमा किसानलाई विभिन्न कृषियन्त्र उपलब्ध गराउने सूचनाबारे उनले स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानअध्यापक बालकृष्ण थपलियामार्फत सुनेका थिए । गाउँमा गाइगोरु पाल्ने चलन हराउँदै गएको हुँदा खेत जोत्न सकस हुने गरेको छ । कोदालोले खनेर लगाएको मकै साह्रै फस्टाएको हुँदैन । त्यसैले गाउँमा जोत्ने राम्रो र आधुनिक औजार आवश्यक थियो । तर सूचनामा अनुदानमा हाते ट्र्याक्टर पाउन सक्ने बताइए पनि उनले आँट्न सकेनन् । ‘६० हजार मूल्य पर्ने ट्रयाक्टरका लागि आधा रकम अनुदान पाइने रहेछ । अरु कहाँबाट जुटाउने भन्ने भयो,’ उनले भने ।
गाउँमा कृषक समूह बनाएर काम गरे पनि कोषमा अनुदानको आधा रकम व्यहोर्न सक्ने रकम देखिएन । यो समस्याबारे जानकारी पाएपछि नारायणगढको सेन्ट्रल कलेजका प्रिन्सिपल तथा सञ्चालक यज्ञविलास पौडेल (वाईबी) आधा रकम व्यहोर्न तयार भए । ‘यसरी हाम्रो गाउँमा पहिलो पटक यति ठूलो यन्त्र आयो,’ चेपाङले भने । पावर टिलर बुझाउन यज्ञविलास नै कान्दा पुगेका थिए । उनलाई सीताबहादुरले रैथाने जातका ठूला कोशा हुने केरा दिएर स्वागत गरे । गाउँमा पावर टिलरका बारेमा ज्ञान भएका युवा पनि छन् ।
कान्दामा रहेको छात्रावासका इन्चार्ज मिसन चेपाङले काभ्रेमा बसेर १२ कक्षासम्म पढ्दा हाते ट्र्याक्टरले बारी जोत्ने गरेका थिए । त्यसैगरी रविलाल चेपाङ पनि अटोमोबाइल मेकानिकबारे सिटिईभीटीको कोर्स पढ्दै छन् । ‘यसलाई कसरी चलाउने, समस्या आए कसरी बनाउने बारे जानेका युवा गाउँमै छन् । बारी खन्ने, जोत्ने गरेर राम्रो फलाउने चुनौती अब हामी बुढाहरुलाई आयो,’ चेपाङले फेरि ठट्यौली पारामा हाँस्दै भने ।
