चितवन — गुडिरहेको बसमा शुक्रबार राति अचानक आगलागी भएर क्षति पुगेको छ । बसमा रहेकाहरू तत्कालै बाहिर निस्केका कारण सकुशल रहेको चितवन प्रहरीले जनाएको छ ।
शुक्रबार राति पौने ११ बजे रत्ननगर नगरपालिका–१६ कयरखोला नजिक भित्री सडकमा उक्त घटना भएको थियो । आगलागी भएको बा प्र ०६–००१ ख ०१८८ बस पर्साबाट पिठुवा आउँदै गरेको थियो । सूचना प्राप्त हुनासाथ स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए ।
खैरहनी नगरपालिकाको दमकले आगलागी पूर्ण नियन्त्रणमा लिएको चितवनका एसपी गोविन्द पुरीले बताए ।
आगलागीको कारणबारे सोधखोज भइरहेको छ । बसमा यात्रुहरू थिएनन् । चालक तथा बस मालिक चितवन शक्तिखोरका कुलबहादुर रायमाझी लगायत बसका कर्मचारी सकुशल रहेको प्रहरीको भनाइ छ ।
