राजस्व छलेर सिमेन्ट ढुवानी गर्ने कम्पनीलाई जरिवाना 

वैशाख २३, २०८२

केदार शिवाकोटी

Penalty on cement shipping company by evading revenue

दोलखा — जलविद्युत् आयोजनामा राजस्व छलेर सिमेन्ट ढुवानी गरेको खुलेपछि आन्तरिक राजस्व कार्यालयले जरिवाना गरेर ढुवानीका ट्रक छोडेको छ । राजस्व छलीको आशंकामा शुक्रबारदेखि आइतबारसम्म जाँचका क्रममा कर विजक नबोकी ढुवानी गरिरहेका ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका १४ मध्ये प्रफिसियन्ट सोलुसन कम्पनीका १० सिमेन्टका ट्रकमा बिलविजक नभएपछि आन्तरिक राजस्व कार्यालय महाराजगन्जले ३ लाख ३१ हजार ८ सय जरिवना गरेको छ । 

दोलखाका विभिन्न स्थानमा नियन्त्रणमा लिइएका सिमेन्ट ढुवानीका ट्रकलाई प्रहरीले आन्तरिक राजस्व कार्यालय चरिकोटलाई बुझाएको थियो । चरिकोटले आफ्नो क्षेत्राधिकार नभएको भन्दै महाराजगन्जमा कारबाहीका लागि पठाएको थियो । ढुवानी अन्य ४ ट्रकमा भने बिलविजक रहेकाले उनीहरुलाई जरिवाना नगरि छाडिएको हो । उक्त कम्पनीमाथि आन्तरिक राजस्व कार्यालयले थप अनुसन्धान अघि बढाएको आन्तरिक राजस्व कार्यालय चरिकोटका प्रमुख विमलकुमार पौडेलले बताए । 

जरिवाना तिरेपछि सिमेन्ट ढुवानीका ट्रकलाई छाडिएको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताए । नियन्त्रणमा लिएका ट्रकहरुसँग ढुवानी गर्ने ट्रान्सपोर्टलेसमेत कर छलि गरेको खुलेको छ । सिमेन्ट कम्पनीबाट राजधानीका वितरकका गोदाममा ढुवानी गर्ने कर विजक भए पनि ट्रकहरुले सिधैं वितरकले बिलविजकको बिल भरपाई नगरेर राजस्व छलेर जलविदुत् आयोजना पुर्‍याउने गरेको खुलेपछि प्रहरीले यस्ता ढुवानी ट्रकलाई जाँच बढाएको छ । 

वितरकले कति परिमाणमा जलविद्युत् नियन्त्रणमा लिइएका अधिकांश ट्रकमा कर विजकको रसिदसमेत फेला नपरेकाले ठूलो परिमाणमा जलविद्युत् आयोजनामा सिधै सिमेन्ट कम्पनीको बिलविजकबाट अनधिकृत रुपमा ढुवानी गरेर राजस्व छल्न र्‍याकेट चलाइरहेको हुनसक्ने आशंकामा जलविद्युत् आयोजनाका ढुवानीका मालवाहक सवारीसाधन माथी जाँच बढाइएको प्रहरी प्रमुख महतोले बताए । 

केदार

Link copied successfully