भाउजुको हत्या गरेको आरोपमा देवर थुनामा

वैशाख २२, २०८२

प्रताप विष्ट

Brother-in-law jailed for murdering brother-in-law

हेटौंडा — भाउजुको हत्या गरेको आरोपमा एक युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको छ ।

जिल्ला न्यायाधीश शकुन्तला कार्कीको आइतबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका–१ का २२ वर्षीय राहुल दासलाई  हेटौंडा उपमहानगरपालिका–१ की ३५ वर्षीया जेठी भाउजु गुडिया दासको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

राहुलले माइलो दाई २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए ।

३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ । २०८१ चैत १२ गते राति ९ बजे टाउकोमा खुकुरी प्रहार गरेर कोठामा नै भाउजुको हत्या गरेको प्रहरीले जनाएको छ । 

भाउजुले लागु औषध  खरिद गर्न पैसा नदिएकाले हत्या गरेको राहुलले प्रहरी समक्ष बयान दिएका छन् । राहुल लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ । राहुलले कोठामा भाउजुको हत्या गरेपछि अपराधबाट उम्किन माइलो दाईको पनि हत्या गर्ने प्रयास गरेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully