हेटौंडा — मकवानपुरमा जंगलमा कुरिलो टिप्न जाने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-५ सोलीथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जाँदा भीरबाट लडेर ५२ वर्षीय कप्तान रुम्बाको मृत्यु भएको हो ।
उनी भीरबाट करिब सय मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । पोस्टमार्टमका लागि उनको शव हेटौंडा अस्पताल ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार मकवानपुरमा चालु आवको १० महिनाको बीचमा भीरबाट लडेर १४ जनाको मृत्यु भइसकेको छ । सोही अवधिमा मकवानपुरमा भीरबाट लडेर १९ जना घाइते भएका छन् ।
