राजस्व छली आशंकामा सिमेन्ट बोकेका १४ ट्रक नियन्त्रणमा

वैशाख २१, २०८२

केदार शिवाकोटी

14 trucks carrying cement under suspicion of revenue evasion

दोलखा — जलविद्युत् आयोजनामा राजस्व छलेर सिमेन्ट ढुवानी भइरहेको आशंकामा प्रहरीले १४ वटा ट्रक नियन्त्रणमा लिएको छ । शुक्रबारदेखि आइतबारसम्म जाँचका क्रममा कर बिजक नबोकी ढुवानी गरिरहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका ट्रकसँग ढुवानी गर्ने ट्रान्सपोर्टले समेत कर छली गरेको खुलेको छ । सिमेन्ट कम्पनीबाट राजधानीका वितरकका गोदाममा ढुवानी गर्ने कर बिजक भए पनि ट्रकहरुले सिधै वितरकले बिलबिजक भरपाई नगरी राजस्व छलेर जलविद्युत् आयोजना पुर्‍याउने गरेको खुलेको छ ।

नियन्त्रणमा लिइएका अधिकांश ट्रकमा कर बिजकको रसिदसमेत फेला नपरेकाले ठूलो परिमाणमा जलविद्युत् आयोजनामा सिधै सिमेन्ट कम्पनीको बिलबिजकबाट अनधिकृत रुपमा ढुवानी गरेर राजस्व छल्न र्‍याकेट चलाइरहेको हुन सक्ने जिल्ला प्रहरी दोलखाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।

‘अर्बौंको सिमेन्ट ढुवानीमा राज्यलाई कर नतिरी वितरकले राजस्व छलीको र्‍याकेट चलाइरहेको देखिन्छ,’ उनले भने, ‘वितरकले आयोजनालाई सिमेन्ट पठाउँदा सम्बन्धित वितरक कम्पनीको बिलबिजक हुनपर्ने हो, आयोजनाले सिधै कम्पनीसँग खरिद गरिएको पनि देखिएन ।’

ढुवानी गर्ने हरेक मालवाहक ट्र्रकसँग सिमेन्टको बिलबिजक अनिवार्य हुनुपर्ने नियम छ । तर नियन्त्रणमा लिइएका सिमेन्टका ट्रकसँग कुनै बिलबिजकको कागजात फेला नपरेको उनले बताए ।

प्रहरीले सिंगटीबाट ५, कालिञ्चोक गाउँपालिका–८ सुनखानीबाट ३, खरिढुंगाबाट ४ र चरिकोटबाट २ सिमेन्ट बोकेर आएका ट्रक नियन्त्रणमा लिएको हो । राजस्व छलीको आशंकामा धमाधम प्रहरीले बिलबिजक नभएका ट्रक नियन्त्रणमा लिएपछि ट्रक बिनासर्त छाड्न र अनुसन्धान नगर्न दबाब परिरहेको स्रोतले जनायो ।

जिल्लाका जलविद्युत् आयोजनामा सिमेन्ट वितरणको जिम्मा लिएका कम्पनीले आफूले बिलबिजक जारी नगर्ने र सिमेन्ट कम्पनीले निश्चित स्थानका लागि दिएको कागजात देखाउने गरेको फेला परेको छ ।

धादिङबाट काठमाडौंका लागि आएको सिमेन्ट काठमाडौंका गोदाममा अनलोड नगरी राजस्व छल्न  वितरकले सिधै दोलखा पठाएको खुलेको छ । नियन्त्रणमा लिइएका ट्रकबाट सिन्धुपाल्चोक, काभ्रेका अनलोडका कागजात देखिएको प्रहरीले जनाएको छ ।

यस्तै, सिमेन्ट ढुवानी गर्ने कम्पनीले समेत राजस्व छली गरिरहेको फेला परेको छ । नियन्त्रणमा लिएका ट्रकहरुबाट आइतबारसम्म ५ हजार ८० बोरा सिमेन्ट रहेको प्रहरीले जनाएको छ । ती ट्रकलाई आन्तरिक राजस्व कार्यालय चरिकोटको जिम्मा लगाइएको छ । कार्यालय प्रमुख विमलकुमार पौडेलले सिमेन्ट ढुवानीमा कर बिजकका कागजात फलो नपरेको बताए । ‘जिल्लाका जलविद्युत् आयोजनामा ढुवानी भएर आएका सिमेन्टका ट्रकमा कर बिजकका कागजात नभएको देखिएको छ,’ उनले भने, ‘यो अनुसन्धान र हेर्ने महाराजगन्ज कार्यालय भएकाले थप अनुसन्धानका लागि उतै लेखेर पठाएका छौं ।’

ढुवानी गर्ने ट्रकहरुमा ढुवानीको कर र सिमेन्टको कर बिजकका कागजात नभएकाले राजस्व छलीको र्‍याकेट चलिरहेको आशंका भएको उनले बताए । 

केदार शिवाकोटी

Link copied successfully