सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका वडा २ तातोपानीबाट चीन जोड्ने सडक भासिदा उत्तरी नाका तातोपानीबाट कन्टेनर आउजाउ अवरुद्ध भएको छ ।
बुधबार बेलुकीदेखिको अविरल वर्षातपछि भोटेकोशी गाँउपालिका-२ कोप्लाङस्थित १५ फिट बाटो तीन फिट तल भासिदा यहाँ कन्टेनर र सवारीसाधन आउजाउ पूर्ण रुपमा ठप्प बनेको हो ।
सडक भासिने क्रम अझै नरोकिएको र राजमार्ग खुलाउन पहल भइरहेको इलाका प्रहरीका कोदारीका ट्राफिक छविलाल निरौलाले बताए । उनले भने, ‘सडक बुधबार बेलुकादेखि अवरुद्ध भएकाले तातोपानी भन्सारबाट चीनमा सामान लिन हिँडेका कन्टेरनहरू तातोपानीको १० किलोमा र चीनबाट सामान दिएर आएका कन्टेर सिमाक्षेत्रमै रोकिएका छन ।’
बाह्रबिसे तातोपानी २६ किलोमिटर सडक यसअघिदेखि बाढीपहिरोले जोखिमपूर्ण र जिर्ण छ । यहाँका दर्जनभन्दा पुराना पहिरो खस्न थालेका छन् । बर्खाअघि सडक अवरुद्ध हुन थालेपछि स्थानीय त्रसित र व्यवसायी निरास बनेका छन् ।
