हेटौंडा — बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले खानेपानी जनताको मौलिक अधिकार रहेको र सन् २०३० सम्म बागमतीका सबै जिल्लाका घरधुरीमा पानी पुर्याउने लक्ष्य लिएको बताएका छन् । 'सरकारले खानेपानीको व्यवस्था गरिदिन्छ तर त्यसको मर्मतसम्भार स्थानीले गर्नुपर्छ,' उनले भने ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-२ भाटीस्थित भाटी थुम्कीको लिफ्टिङ प्रणाली शुभारम्भ गर्दै मन्त्री खड्काले आफूले पाएको सुविधालाई दिगो बनाउनका निमित्त जनताले पनि हातेमालो गर्नुपर्ने बताए । भाटी थुम्की स्किम २ खानेपानी योजना उपभोक्ता समितिद्वारा आयोजित कार्यक्रममा मन्त्री खड्काले बुधबार खानेपानीको धारा खोलेर उद्घाटन गरे ।
चार वर्ष लगाएर सम्पन्न गरिएको उक्त आयोजनाबाट राक्सिराङ १, २ र ३ नं वडाका ६ सय ५० घरधुरीका करिब २ हजार ५ जना लाभान्वित हुनेछन् । बागमती प्रदेश सरकारको डिभिजन खानेपानी कार्यालयको करिब ३ करोडको लगानीमा निर्माण सम्पन्न आयोजनाबाट सानोभावर, गडुवान, भाटी, थुम्की, गैरीगाउ, गहुँबारी र केराबारीका बासिन्दा लाभान्वित हुनेछन् ।
खानेपानीको अभावले सुक्खायाममा एक घण्टा हिँडेर खोल्सीमा रहेको कुवाबाट पानी ल्याउनुपर्थ्यो । वर्षायाममा बलेँसीवाट झरेको पानी खानुपर्ने उनीहरुको बाध्यता थियो ।
