काभ्रे — काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–२ रविओपी बजगाई टोलमा रहेको गौतम पशुपन्छी कृषि फार्ममा सोमबार बिहान करिब ४ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार, सन्तोष कुमार गौतमद्वारा सञ्चालित उक्त फार्ममा भएको आगलागीबाट ३ वटा गाई जलेर मरेका छन् भने ५ वटा गाई जलेर घाइते भएका छन् । इँटाको गारो र जस्ताको छाना भएको एकतले ट्रस फार्ममा आगलागीको कारण अझै नखुलेको उनले बताए ।
उनका अनुसार आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीको खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो बिहान ४:५० बजेतिर पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
