'प्रहरी प्रशासनले मात्र गाँजा र अफिम खेती नियन्त्रण गर्न सक्दैन'

वैशाख ८, २०८२

प्रताप विष्ट

'Police administration alone cannot control cannabis and opium cultivation'

हेटौंडा — बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले लागुऔषधका दुर्व्यसनीले  आफू, घर, परिवार र समाजमा ठूलो नोक्सानी पुर्‍याउने बताएका छन् । ‘करिअर’ बनाउने उमेरका युवा क्रमशः लागुऔषधको सिकार बन्दै जानु दुखद रहेको उनको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हेटौंडामा सोमबार आयोजित ‘प्रदेशस्तरीय लागुऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रतिनिधि र प्रदेशसभामा गाँजाको वैधानिकताबारे चर्चापरिचर्चा गर्ने गरेकाले पनि गाँजा खेती मौलाएको बताए ।

‘मकवानपुर, धादिङ र चितवनमा गाँजा खेतीलाई विस्थापित गर्दै अफिम खेती  मौलाउन थालेको छ,’ उनले भने, ‘गाँजा र अफिम खेतीलाई नियन्त्रण गर्न तीन तहको सरकारबीच समन्वय र सहकार्य हुनुपर्छ । प्रहरी प्रशासनले मात्र गाँजा र अफिम खेती नियन्त्रण गर्न सक्दैन, यसमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।'

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी  उपरीक्षक विश्वराज खड्काले प्रस्तुत गरेको कार्यपत्रमा हेटौंडा लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । मकवानपुरका केही पालिकामा गाँजा र अफिम खेती मौलाएका छन् । कार्यपत्रमा प्रहरी एक्लैले मात्र लागुऔषध नियन्त्रण कठिनाइ हुने उल्लेख गरिएको छ ।

कार्यपत्रमा यो चालु आर्थिक वर्षको ९ महिनामा मात्र ४ हजार केजीभन्दा बढी गाँजा बरामद गरिएको छ भने १८ केजीभन्दा बढी अफिम नियन्त्रणमा लिइएको छ । लागुऔषधसहित १ सय ७८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको कार्यपत्रमा उल्लेख छ ।

प्रताप विष्ट

Link copied successfully