हेटौंडा — लोपोन्मुख जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा शनिबार उक्त सामग्रीहरु वितरण गरिएको हो ।
अमेरिकी सहयोगी संस्था मान्द्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको थियो । मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापाले बनकरिया २२, चेपाङ २५ र तामाङ ४ गरी ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरेका थिए ।
कार्यक्रममै वनकरियासहित ५१ बालबालिकाका लागि कपी ५६ दर्जन, डट्पेन १५ पाकेट, पेन्सील ५ बक्स, सापनर १५ बक्स, ईरेजर १५ बक्स, रेकर्ड फाईल ५० वटा लगायतका शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो । अमेरिकी सहयोगी संस्था मान्द्रेकोको आर्थिक सहयोगमा सन्तोषी परियोजना अन्तर्गत १ वर्षका लागि ट्युसन कक्षा सञ्चालन गर्न प्रदान गरिएको हो ।
परियोजना अन्तर्गत सन् २०१५ देखि सन्तोषी बनकरियाले बनकरियासहितका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आएकी छिन् । बनकरिया समुदायका पढ्ने उमेरका सबै बालबालिकाहरु अहिले स्कुल जाने गरेका छन् । बनकरिया समुदायमा ६ जना छात्रासहित ७ जनाले एसईई गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, बंगलादेशी स्वयम् सेवक एलिजा बास्के र अप्सना अनि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोक सुजन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजनामा शुक्रबार जलवायु परिवर्तनले आदिवासी महिला तथा किशोरीहरुलाई पारेको असरबारे छलफल गरिएको थियो । बनकरियासहित स्थानीय महिला तथा किशोरीको सहभागिता रहेको कार्यक्रममा बंगलादेशी स्वयम् सेवक एलिजा बास्के र अप्सना अनिले सहजीकरण गरेका थिए ।
