मकवानपुरमा भीरबाट लडेर एकको मृत्यु

छुट्टाछुट्टै घटनामा भीरबाट र घरबाट लडेर दुई जना घाइते

वैशाख ७, २०८२

प्रताप विष्ट

One person died after falling from Bhir in Makwanpur

हेटौंडा — मकवानपुरका भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–२ याङग्राङका ५० वर्षीय देवलसिंह बलको भीरबाट लडेर मृत्यु भएको हो ।

तीन दिन अघि घरबाट हिँडेका बलको पानीघाट डाँडाको शीरबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा चालु आवको १० महिनामा भीरबटा लडेर  १४  जनाको मृत्यु भइसकेको छ । 

यसैगरी, मकवानपुरगढी–८ बुढीचौरका ३५ वर्षीय आकाश थिङ बाख्रालाई घाँस काट्न लाग्दा रुखबाट लडेर घाइते भएका छन् । घाइते थिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घरबाट करिब एक किलोमिटर पूर्वतर्फ रहेको निगल डाँडामा रहेका फलाटको रुखमा चढेर घाँस काट्न लाग्दा रुखबाट लडेर थिङ घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । 

यसैगरी, वकैया गाउँपालिका–५ राजदमारका ५० वर्षीय ज्ञानबहादुर स्याङतान शनिबार राति घरबाट लडेर घाइते भएका छन् । राति घरको बार्दलीबाट पिसाब गर्ने क्रममा लडेर उनी घाइते भएका थिए ।

उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए । प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार चालु आवको १० महिनामा भीरवाट लडेर १७ जना घाइते भएका छन् ।  

प्रताप विष्ट

Link copied successfully