खैरो हेरोइनसहित तीनजना पक्राउ 

चैत्र ३१, २०८१

सुवास विडारी

Three arrested with brown heroin

मकवानपुर — मकवानपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ । हेटौंडा-४ बाट दुई र हेटौंडा-१ तरकारी बजारबाट एकजना समातिएका हुन् ।

हेटौंडा-४ स्थित हेटौंडा क्याम्पस रोडअगाडि शंकास्पद अवस्थामा बसिरहेका धनुषाको महेन्द्रनगर नगरपालिका-२ बस्ने ३४ वर्षका जुनेन अन्सारी र ना १७ प ४१७६ नम्बरको मोटरसाइकल चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ घर भई हेटौंडा-५ भैरवरोड बस्ने ३० वर्षीय विश्वराज रुपाखेती पक्राउ परेका हुन् । उनीहरुबाट ४ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यस्तै, हेटौंडा-१ तरकारी बजारस्थित सडकबाट खैरो हेरोइनसहित हेटौंडा-१ कै २४ वर्षका सुशील दास बानियाँ पक्राउ परेका छन् । उनको साथबाट २ ग्राम ८० मिलिग्राम खैरो हेरोइन फेला परेको हो ।

तीनैजनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully