काभ्रे — काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं २ स्थित ठकुरी गाउँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार बिहान ७ बजेतिर ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको कम्पाउण्डभित्र बा. २ क ३४६४ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा ब्याग गर्दा डिलबाट करिब ७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा टिपर चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–२ मा बस्ने ३१ वर्षीय विनोद घोरासैनी रहेका छन् ।
टिपरमा च्यापिएर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
