मकवानपुरको बकैयाका भूमिहीन दलित र सुकुम्बासी गरी ५९ जनालाई लालपुर्जा वितरण
हेटौंडा — रगत-पसिना बगाएर पाँच दशकदेखि खनजोत गरेको जग्गाको धनीपुर्जा हात पर्दा उनको खुसीको सीमा नै रहेन ।
देब्रे खुट्टाको घुँडा र पैताला दुखेर उनी ठमठम परेर हिँड्न सक्दिनन् । तर लालपुर्जा पाउने भनेपछि एक घण्टा टाढाबाट सुस्तरी हिँडेर लालपुर्जा लिन मकवानपुर बकैया गाउँपालिका-७ भीरकोटसम्म आइपुगिन् ठूलीमाया भोम्जन ।
हातमा लालपुर्जा पर्नेबितिक्कै खुसीले उनको आँखा रसाए । २०३० सालदेखि बकैया-७ हर्दामा उनी बसोबास गर्दै आएकी छिन् । २०६९ सालमा पतिको मृत्यु भयो । छोरा रोजगारीका लागि विदेश गएको १६ वर्ष बितिसक्यो, अहिलेसम्म अत्तोपत्तो छैन । दुई छोरीको विवाह गरेर पठाइसकिन् । अहिले उनी घरमा एक्लै छिन् ।
वृद्धाभत्ताको भरमा बाँचिरहेको अवस्थामा घरसहित २ कठ्ठा जमिनको लालपुर्जा हातमा पर्दा ७५ वर्षिया उनले भनिन्, ‘अब घरमा ढुक्कसँग बस्न पाइयो ।’
उनी मात्र होइन सभद्रा परियार, पदक गुरुङ पनि हातमा लालपुर्जा परेपछि फुरुङ भएका छन् । आफ्नो हातको लालपुर्जा छिमेकीलाई देखाउँदै यताउता हिँडेका छन् ।
भूमि समस्या समाधान आयोग मकवानपुरले आइतबार बकैया-४ र ७ नम्बर वडाका भूमिहीन दलित र सुकुम्बासी गरी ५९ जनालाई लालपुर्जा वितरण गरेको छ । 
संघीय सरकारको भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा वितरण गर्दै भने, ‘सरकार सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्था गर्न सक्रिय छ । अब कहिले पनि सुकुम्बासी आयोग गठन गर्न नपर्ने गरी आयोगले काम गर्नेछ ।'
जग्गाधनी पुर्जा प्राप्त गर्नेमा बकैया–४ का १९ जना र भूमिहीन सुकुम्बासी ४० जना छन् ।
आयोगका जिल्ला अध्यक्ष बलराम बलका अनुसार बकैयाको समन्वयमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको हो ।
