घर घरै धारामा पानी झर्दा दुर्गमका बासिन्दा दङ

चैत्र २८, २०८१

प्रताप विष्ट

Residents of remote areas rioted when water fell in streams from house to house

हेटौंडा — वर्षायाममा परेको छानाको पानी घैंटोमा भरी तिर्खा मेट्नुपर्ने बाध्यताबाट छुटकारा पाउँदा ७० वर्षीया माइलीमाया थिङ दङ परेकी छन् । वर्षायाममा भरेर राखेको घैंटोको पानी सकिएपछि दुई घन्टा हिँडेर गैरीगाउँको कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताबाट पनि उनले बुधबारदेखि मुक्ति पाएकी छन् । 

गैरीगाउँ खोलाको पानी लिफिटिङ गरेर दामगाडेको ट्यांकीमा पानी ल्याइएको छ । त्यही पानी बुधबार थाहा नगरपालिका मेयर विष्णु विष्टले एक समारोहबीच खोलेर दामगाडे र गैरीगाउँका घर/घरको धारामा पानी झारेका थिए । घरको आँगनमा जडान गरिएको धाराबाट पानी झर्दा माइलीमाया थिङको खुशीको सीमा नै रहेन ।

‘गाउँमा पानीको दुःखले कति घर बसाईँ पनि सरे, आफू गाउँको मायाले बसाईँ सर्न सकिएन,’ गैरीगाउँकी ७१ वर्षीया सुकुमाया भोम्जनले भनिन्, ‘अब पानीका लागि दुःख गर्न परेन, हामी अत्यन्त खुशी भएका छौं, यहाँ पानीकै दुःख थियो ।’  

थाहा नगरपालिका–८ दामगाडे र गैरी गाउँमा पिउने पानी उपलब्ध गराउनका लागि २०७८ सालदेखि दामगाडे खानीपानी आयोजना सुरु गरिएको थियो । योजना अनुसार रकम उपलब्ध नभएकाले साढे तीन वर्षपछि खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष हेमकुमार थिङले बताए ।

गैरीगाउँको खोलाबाट तीन स्थानमा लिफटिङ गरेर ल्याएको पानी बुधबारसम्म एक सय ५१ वटा धारामा पानी वितरण गरिएको छ । उक्त खानेपानी आयोजना निर्माण गर्नका लागि रोटरी क्लब काठमाडौंले ५१ लाख १६ हजार, च्वाइस नेपालले २० लाख ८८ हजार, बागमती सरकार खानेपानी मन्त्रालयले ६५ लाख, थाहा नगरपालिकाले १५ लाख  र स्थानीयवासीले १९ लाख ७० हजार मूल्य बराबरको  श्रमदान गरेका हुन् । उक्त खानेपानी आयोजना सम्पन्न गर्न १ करोड ७५ लाख ५३ हजार रुपैयाँ खर्च भएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले वताए । 

थाहा नगरपालिकाको दुर्गम क्षेत्र दामगाडे र गैरी गाउँमा सम्पन्न गरिएको उक्त खानेपानी आयोजनाको उद्घाटन समारोहमा च्वाइस नेपालका निर्देशक प्रतीक शर्मा, उपमेयर भरत गोपालीलगायत उपस्थित थिए। पानीको अभावले गर्दा उक्त क्षेत्रका बासिन्दाहरु तरकारी खेती गर्नबाट पनि बञ्चित थिए । वर्षायाममा छानाबाट झरेको पानी ५ हजार लिटरको सिमेन्टीको घैंटोमा भरेर पानीको जोहो गर्दै आएका थिए भने त्यो पानी सकिएपछि दुई घन्टा हिँडेर गैरीगाउँको कुवाबाट पानी ल्याउने गरेका थिए । 

प्रताप

Link copied successfully