हुलाक टिकटमा सिकारी सरदार वंशु गुरुङ

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Hunting Sardar Vanshu Gurung on postage stamp

काठमाडौँ — सिन्धुली गढीमा अंग्रेजलाई विश्वमा पहिलोपटक पराजित गर्ने सिकारी सरदार वंशु (वंश) गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ । 

हुलाक सेवा विभागले काठमाडौंमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटमा टाँचा लगाए । बि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धमा गोर्खाली फौजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै सिकारी सरदार वंशु गुरुङ अंग्रेज फौज परास्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वमा पहिलोपटक पराजय भोगेको सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश) गुरुङको योगदानको सम्मान गर्दै उनको तस्वीर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो । 

लमजुङको कपुरगाउँ (को ने नासा) मा जन्मिएका सिकारी सरदार वंशु गुरुङ बसाई सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर पुगेका थिए । उनी लेम (लाम्छाने) खलकका हुन् । 

Hunting Sardar Vanshu Gurung on postage stamp

हुलाक टिकटकमा टाँचा लगाउँदै मन्त्री गुरुङले सिकारी सरदार वंशु गुरुङले नेपालको भूगोल बचाउन अतुलनीय योगदान गरेको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणाका लागि योग्य व्यक्तित्व भएको बताए । 

सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्षलाई सरकारको तर्फबाट सम्मानसमेत गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully